लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिसो बढेपछि हाँसको मासुको माग उच्च

tillotmacitynews - 2024 Jan 26 08:20 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १२ गते । गत एक महिनादेखि बाँकेको नेपालगन्ज लगायतका ठाउँहरूमा अत्यधिक चिसो बढेपछि हाँसको मासुको माग ह्वात्तै बढेको छ । चिसोको मौसममा हाँसको मासुका विभिन्न परिकार खानेहरू बढेपछि हाँसको मासुको माग उच्च हुँदा हाँस पाउनै समस्या भएको छ । नेपालगन्जमा हाँसको छोइलालगायतका परिकारको बिक्री होटल, रेष्टुरेन्टमा धेरै हुन थालेको र घरहरूमै पनि त्यस्ता परिकार बनाउनेक्रम बढेको नेपालगन्ज ११ का दीपेन्द्र श्रेष्ठले बताउनुभयो । 


उहाँले केही दिनयता नेपालगञ्जमा हाँस पाउन समस्या भएको बताउनुभयो । नेपालगन्ज वरिपरिका क्षेत्रमा धेरैले हाँस नपाल्ने गर्दा छोइलाको स्वाद मिठो मान्नेहरूले खोजेको बेला पाउन नसकेको बताएका छन् ।  जति हाँसको परिकारको माग बढ्न थालेको छ, उति नै हाँस पाउन मुस्किल हुन थालेको नेपालगन्जमा हाँसको छोइलालाई स्वादिष्ट बनाएर सहरमा परिचित बनाउने रेष्टुरेन्ट व्यवसायी राजकुमार थापाले बताउनुभयो । 


चिसो धेरै बढ्दै गएपछि यहाँ हाँसको छोइला लगायतका परिकारको माग बढ्दै गएको भए पनि चाहेजति हाँस नपाउँदा सेवा दिन नसकिएको बताउनुभयो ।  नेपालगन्जमा हाँसको छोइलालाई स्वादिष्ट बनाएर सहरमा परिचित बनाउने श्रेय थापालाई जान्छ । उहाँले यहाँ हाँसको छोइलालाई ब्रान्डिङ मात्रै गर्नुभएन गाउँका किसानलाई हराउँदै गएको हाँस पालनमा समेत प्रोत्साहन गरिरहनु भएको छ । 


थापाले थप्नुभयो, ‘काठमाडौँमा हाँसको छोइला खाएको थिएँ त्यही देखेर नेपालगन्जमा पनि सम्भावना खोज्दै बनाउन सुरु गरेको हुँ । अहिले हाँसको छोइला खोज्दै मकहाँ आउनेहरू धेरै हुनुहुन्छ । तर सबैलाई दिन नसकिने अवस्था आएको छ ।’ हाँसको छोइला बिक्रीका लागि नै थापाले २०६८ सालबाट नेपालगन्जको न्यूरोडमा फेवा रेस्टुरेन्ट सुरु गर्नुभएको थियो । उहाँले आफ्नो रेष्टुरेन्टमा हाँसको छोइलाकै लागि ग्राहकहरू बढी आउनेगरेको बताउनुभयो ।


यो विशेष परिकारका रूपमा स्थापित भएको जनाउँदै उहाँले हाँसको छोइलाको बिक्री बढेपछि हाँस पालनमा समेत प्रोत्साहन भइरहेको बताउनुभयो । थापाको रेष्टुरेन्टमा मात्र मासिक दुई सय वटा जति हाँसको खपत हुन्छ । तर ती हाँसहरू बर्दियाबाट ल्याउनुपर्ने बाध्यता छ । 


बाँकेमा खासै हाँस नहुने भएकाले बर्दियाबाट ल्याउने गरिएको बताउँदै थापाले एउटा हाँसको मूल्य न्यूनतम १ हजारदेखि २ हजारसम्म पर्छ । बाँकेमै हाँस पालनको वातावरण भए राम्रो हुने थियो भन्नुभयो । हाँसको छोइलाको माग बढ्दै गएकाले हाँसपालनमा किसानलाई प्रोत्साहन गर्नु आवश्यक रहेको थापाको भनाइ छ । 

कमेन्ट गर्नुहोस्