लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अम्रिसोको कुचो बिक्री गरी लाखौं आम्दानी

IMG

तिलोत्तमा सिटी,२०८० पुष ४ गते । नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रुपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ । पहाडी क्षेत्रका किसान बर्षेनी अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको बताएका छन् ।  यो प्रत्येक दुई–दुई बर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्षेनी फरक– फरक ठाउँमा यो खेती गरेर आम्दानी लिनेगरेको बुलिङटार –४, देउरालीका मीनबहादुर आलेले बताउनुभयो । उहाँले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गर्नुभएको छ । 


नवलपुरको पहाडी क्षेत्रमा पाखोबारी धेरै रहेकाले सिंचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्नेगरेको उहाँको भनाइ छ । हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईले पनि वार्षिक करिब ९५ हजार आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धान लगाउने खासै ठाउँ छैन्, सबै पाखोबारी छ, लगाएको धानले बढिमा चार महिना पुग्छ । पहाडको पाखामा अम्रिसो खेतीगरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।”


पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । रानाका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ ।  ्जसअनुसार राम्चे क्षेत्रमा १९ वटा वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी स३ंख्या १ सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा २२८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा ३ सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा ३ सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् ।


चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आबद्ध भएर अम्रिसो खेती गर्दैआएका छन् । सामूहिक रुपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरेको रानाले बताउनुभयो । प्रत्येक वर्षजेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । 


गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष तीन करोड २६ लाख ३५ हजार ८५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमुलक पेशामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दैआएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसैवर्ष ५५ हजार बाेट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमश अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने सूचना अधिकारी गौतमले बताउनुभयो ।


नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्नेगरेको उहाँले बताउनुभयो । यस बाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुनेगरेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्