लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरियाबाट फर्किएर कागती खेतीमा रमाउँदै

IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २८ गते । पैसा कमाउन विदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीं कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका-१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् । मासिक रु३ लाखको नोकरी छाडेर कृषि पेशा अँगालेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीं नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।


स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन् । पुर्ख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराइ गरिआएको थियो । बसाइँसराइ गरेर आएको केही वर्षपछि व्यावसायिक रूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला बताउँछिन् । कागती खेतीबाट बर्सेनि उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन् ।


‘कागतीका बिरुवा आफूले हुर्काए पनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेशा सम्हाल्दै आउनुभएको छ, सिर्जना भन्छिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’ विसं २०७८ मा रु४ लाख, २०७९ मा रु७ लाख र २०८० मा रु१५ लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यस वर्ष गत वैशाख र जेठ महिनामा हावाहुरी सहितको असिनाले क्षति नबनाएको भए करिब रु२० लाख बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो ।


करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकोमा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराएको थियो । आफूहरुलाई व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरणा दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन् । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन् ।


पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल जिल्लामा २६३ हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने २२१ हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिक टन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार बताउँछन् ।


बिक्रीका लागि समस्या छैन


उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताउँछिन् । उत्पादित कागती पोखरा,चितवन लगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु १०० देखि रु १५० सम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ ।


कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन


कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् । सानोतिनो मिहिनेत र परिश्रमले कागती खेती हुँदैन, सिर्जना भन्छिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’ सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउँदो भएकाले यसैतर्फ आकर्षित भएका हौं’ उनी भन्छिन् । कागती फागुन र चैत महिनादेखि फुल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन् ।


बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्लो समय कागती खेतीतर्फ आकर्षण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् ।

कमेन्ट गर्नुहोस्