लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पतालमा थप नमुना संकलन केन्द्र स्थापना

tillotmacitynews - 2023 Dec 12 12:05 PM
IMG

तिलोत्तमा सिटी, २६ मंसिर २०८० । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवालाई थप व्यवस्थित  गर्नका लागि छुट्टै ल्याब नमुना संकलन केन्द्र स्थापना गरेको छ । उक्त संकलन केन्द्रको आज औपचारिक समुद्घाटन गर्दै अस्पतालका महिला प्रसूति रोग विशेषज्ञ डा.भक्तवत्सल रावतले सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे ।


यो अस्पतालमा दैनिक २ सय बढी प्रसूति सेवाका लागि आउने गरेको बताउँदै उनले विगतमा एउटै काउन्टर र नमुना संकलन केन्द्र हुँदा हुने भिड व्यवस्थापन हुनुका साथै झन्झट कम हुने विश्वास व्यक्त गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका आफूहरू लागि रहेको बताए । उनले पछिल्लो समय अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गर्दै सो अनुसारको भौतिक संरचना नहुँदा केही समस्या भएको गुनासो गरे । सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय सेवाका लागि प्रयास जारी रहेको बताए ।


लुम्बिनी प्रादेशिक अस्पतालमा गत वर्ष १२ हजार २ सय ७५ को स्वस्थ सुत्केरी सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा ४ हजार ४ सय ८२ गर्भवती अप्रेसनबाट सुत्केरी भएको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिए ।अस्पतालका बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेलले प्रसूति तथा बालबालिकाहरुको ल्याब नमुना संकलन केन्द्रको स्थापनासँगै सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि हुने उल्लेख गरे


अस्पतालले सेवालाई सहज बनाउनका लागि हालै मधुमेह रोगको ल्याब परीक्षणका लागि समेत छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरमा मधुमेहका बिरामीले बिहान ७ बजे देखिनै सेवा लिन मिल्ने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्