लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युनिभर्सल कलेज भैरहवामा प्रिन्सिपललाई पदमुक्त गरिएपछि मेडिकल कलेजको आन्दोलन फिर्ता

tillotmacitynews - 2023 Nov 07 01:22 PM
IMG

तिलोत्तमा सिटी, २१ कात्तिक २०८० । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल) भैरहवामा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुङ्गिएको छ । कलेजका प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको हो । ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म आइपुगेको थियो । असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले मङ्गलबारदेखि कलेजको पठनपाठन र उपचार सेवा सुचारु भएको जानकारी दिनुभयो ।


आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशोधन शाखामा तालाबन्दी गरेका थिए । विद्यार्थीहरुले प्रिन्सिपल पाठकलाई पाँच दिनसम्म बन्धक बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई बन्धक अवस्थाबाट मुक्त गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिँदै आउनुभएको थियो । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।


नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय वैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको थियो । तर विद्यार्थीहरुले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए ।विद्यार्थीहरुले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा थिए ।

कमेन्ट गर्नुहोस्