
तिलोत्तमा, असोज २७ गते २०८०। प्रसारणलाइन परियोजनामा सबैभन्दा कम लागत प्रस्ताव गर्ने बोलपत्रदाताहरूसँग प्रारम्भिक वार्तामार्फत लागत घटाउने प्रयास असफल भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सम्पूर्ण ठेक्का रद्द गरेको खुलेको छ ।३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा बोलपत्र हालेका निर्माण कम्पनीहरूसँग गरेको पहिलो चरणको वार्ता असफल भएपछि मात्रै सम्पूर्ण ठेक्का रद्द गर्ने निर्णय गरिएको एमसीसी सम्बद्ध स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।एमसीसीले यसअघि प्रसारण लाइन निर्माणका लागि खोलेको टेन्डरमा सबैभन्दा कम लागत प्रस्ताव नै ६६ प्रतिशत आएको थियो । तीन लटमा तीनवटा टेन्डर आह्वान गरिएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीहरूसँग एमसीए नेपालले लागत कम गर्ने प्रयासस्वरूप प्रारम्भिक चरणको वार्ता गरेको थियो ।
पहिलो लटमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने ट्रान्सरेल लाइटिङ लिमिटेड, दोस्रो र तेस्रो लटमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने टाटा प्रोजेक्टस् लिमिटेडसँग एमसीए नेपालले लागत कम गर्न वार्ता गरेको सम्बन्धित स्रोतहरूले पुष्टि गरेका छन् ।‘हामीलाई एमसीए नेपालले उच्च लागत हुनुको कारण के हो र त्यो लागत घटाएर परियोजना निर्माण गर्न सक्छौ कि सक्दैनौ भनेर सोधेको थियो,’ निर्माण कम्पनी सम्बद्ध स्रोतले भन्यो, ‘हामीले लागतको विस्तृत विवरण उपलब्ध गरायौं । लागत घटाएर परियोजना बनाउन हामी असमर्थ छौं भन्यौं ।’सकेसम्म अहिलेकै बोलपत्रदाताहरूबाट लागत कम गराएर काम गराउन चाहेको तर त्यो सम्भव नभएपछि ठेक्का नै रद्द गर्नतिर जानुपरेको एमसीए नेपाल स्रोतले जनायो । ‘ठेकेदारहरूले लागत घटाउन नमानेपछि कसैगरी पनि परियोजना निर्धारित रकममा बनाउन नसकिने भइयो, त्यही भएर ठेक्का रद्द गर्ने प्रक्रिया शुरु गरिएको हो,’ उनले भने ।
बोलपत्रदाता कम्पनीहरूले कम लागतमा परियोजना निर्माण गर्न असमर्थता जनाएपछि सरकार र एमसीसीले परियोजनामा बजेट थप गर्न सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल गरेका थिए । तर, यो परियोजनामा अहिलेसम्म स्वीकृतबाहेक थप बजेट विनियोजन गर्न नसक्ने कुरा अर्थ मन्त्रालयले बताएको थियो । ‘अर्थमन्त्री प्रकाशशरण महतले नै नेपाल सरकारले अहिल्यै १९ करोड ७० लाख अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता गरिसकेकाले थप रकम योगदान गर्न नसकिने प्रष्ट पार्नुभयो,’ स्रोतले भन्यो, ‘एमसीसीले पनि यसअघि नै स्वीकृत भएको ५० करोड अमेरिकी डलरमा थप अनुदान दिन सक्ने अवस्था पनि थिएन । त्यसो हुँदा ठेक्का रद्द गर्नुको विकल्प रहेन ।’बोलपत्रदाता कम्पनीहरूसँग गरिएको प्रारम्भिक वार्ताबाट आएको निष्कर्षहरूसमेत समावेश गरेर एमसीए– नेपालले ठेक्का सम्पूर्ण रूपमा रद्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनको मुख्यालयमा पठाएको थियो । एमसीसीले त्यसका लागि स्वीकृति दिएपछि एमसीए नेपालले बुधवार ठेक्का रद्द गरेको जानकारी ठेकेदार कम्पनीहरूलाई पठाएको थियो ।
कमेन्ट गर्नुहोस्