
तिलोत्तमा सिटी, असोज १५ गते । एप्पलले हालै आफ्नो आइफोन १५ सिरिज लञ्च गर्यो, जसमा टाइप सी चार्जिङ रहेको छ । एप्पलले आफ्नो स्वामित्वको लाइटनिङ पोर्टलाई बिदा गर्दै पहिलोपटक आइफोनमा टाइप सी चार्जर पोर्ट राखेको हो । यद्यपि यो परिवर्तनसँगै एउटा नयाँ समस्या उब्जिएको छ । कतिपय आइफोन प्रयोगकर्ताहरुले एन्ड्रोइड फोनको चार्जर प्रयोग गर्दा आइफोन १५ अत्यधिक मात्रामा तातेको गुनासो गरेका छन् ।आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताले फोन बढी तात्ने गरेको अर्थात् ओभरहिटिङको समस्या रहेको गुनासो गरेका छन् ।
एन्ड्रोइड फोनको चार्जरबाट आइफोन चार्ज गर्दा फोन छुनै नसकिने गरी तात्ने गरेको कतिपय प्रयोगकर्ताको भनाइ छ । चीनमा एप्पल स्टोरहरुले आइफोन १५ प्रयोगकर्ताहरुलाई आफ्ना डिभाइससँगै एन्ड्रोइड यूएसबी सी चार्जरको प्रयोग नगर्न सल्लाह दिएका छन् । सबैखाले एन्ड्रोइड चार्जरमा आइफोन १५ का लागि आवश्यक पावर नहुन सक्ने र सोही कारण आइफोन बढी मात्रामा तात्ने समस्या उत्पन्न भएको हुनसक्ने बताइएको छ । एउटा एप्पल स्टोरले गुआंगडोंग प्रान्तको फोशानमा ग्राहकहरुलाई आइफोन १५ चार्ज गर्नका लागि एन्ड्रोइड यूएसबी सी केवलको प्रयोग नगर्न सल्लाह दिएको छ ।
स्टोरका कर्मचारीहरुले एन्ड्रोइड फोनको यूएसबी केबलका कारण आइफोनमा ओभरहिटिंग भएको हुनसक्ने भन्दै आफ्ना ग्राहकहरुलाई यस्तो सल्लाह दिएका हुन् । एन्ड्रोइड यूएसबी सी केबल र आइफोन १५ को बीचमा एउटा अन्तर भनेको पिनको व्यवस्था फरक-फरक हुनु हो । एन्ड्रोइड केबलमा Single-Row 9-Pin कनेक्टर हुन्छ भने आइफोन १५ मा Single-Row 11-Pin कनेक्टर हुन्छ ।
स्टोरका कर्मचारीहरुका अनुसार यहीँ अन्तरका कारण एन्ड्रोइड केबलले पर्याप्त शक्ति प्रदान गर्न सक्दैन । जसका कारण आइफोन १५ ओभरहिट हुनसक्छ । एप्पलले भने यो विषयमा कुनै पनि आधिकारिक टिप्पणी गरेको छैन । तथापि एप्पल स्टोरका कर्मचारीहरुबाट दिइएको यस्तो चेतावनी वास्तवमा डिभाइसको सुरक्षा चिन्ताका कारण हो कि एप्पल डिभाइसहरुको बिक्री बढाउने रणनीति हो प्रष्ट नभएको टिप्पणी कतिपयले गरेका छन् ।
कमेन्ट गर्नुहोस्