लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"सहकारीको बिचमा जनउत्थानले संकट टार्दै राम्रो छवि बनाएको छ"

IMG

तिलोत्तमा सिटी, २०८० असोज १४ गते । यस क्षेत्रकै गरिमा बोकेको सबैभन्दा धेरै सदस्य रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीको १८ औं निर्णय प्रमाणित साधारणसभा–२०८० शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संकटको बीचमा जनउत्थानले राम्रो छवि बनाएको बताए । उनले जनउत्थानले ४० हजार बढी सदस्यको विश्वास जितेको बताए । उनले भने, ‘यहाँहरुले असाधारण प्रकृतिको काम गर्नुभएको छ । आकार बढ्दा चुनौति बढ्छ । ठूलो हुँदैमा विजयी भइदैन ।’प्रजिअ अर्यालले सहकारीहरुले गर्दा हाम्रो बिचल्ली भयो दिनदिनै गुनासो सुन्ने ठाउँमा आफू रहेको बताए । उनले अर्थतन्त्रको तेस्रो पिलरको रुपमा राज्यले सहकारीलाई स्थापित गरेको र त्यो अनुसार सहकारी चले कि चलेनन् भन्ने समीक्षा गर्ने बेला भएको बताए । उनले जनउत्थान सहकारीलाई वातावरणको क्षेत्रमा पनि काम गर्न सुझाव दिए ।


जनउत्थान बचत तथा सहकारी संस्था लिमिटेडकी अध्यक्ष ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको मूल मर्म र सहकारीका अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनउत्थानले आफ्नो सेवाहरु प्रवाह गरिरहेको बताइन् । उनले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि बचत र ऋण लगानीका माध्यमबाट सदस्यहरुलाई सेवा दिइरहेको यो संस्थाले अन्य सामाजिक गतिविधिहरु पनि सञ्चालन गर्दै आएको बताइन् ।उनले भनिन्, सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरणको लागि सक्षम, योग्य र उच्च नैतिकवान नेतृत्व, अनुभव र क्षमतावान व्यवस्थापन एवं वित्तीय अनुशासित सदस्यहरुको अति नै आवश्यकता रहन्छ । जुन कुरा हाम्रो यस संस्थाको सबल पक्षको रुपमा रहेको छ । यो अवस्थासम्म आइपुग्न भूमिका निर्वाह गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।


कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुनले सदस्यहरुलाई बचत तथा ऋणसँगै आत्मनिर्भरको बाटो लाग्ने खालका कार्यक्रमहरु बनाउन सहकारी लागिपरेको बताए ।संस्थाकी सचिव सरु रानाले जनउत्थानले जहिले पनि कसरी राम्रा योजनाहरु ल्याउन सकिन्छ भन्नेतर्फ लागेको बताइन् । सहकारी चेतना, एप्स, ऋण , तथा सदस्य ज्ञान सहितका कार्यशाला सहितको कार्यक्रम सहित निर्णय साधारण सभा भएको सो कार्यक्रम साँझ सम्म चलेको थियो। सहकारीका व्यवस्थापक रन बहादुर थापाले सहकारीका यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।कार्यक्रममा सहकारीले उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार माया केसीलाई सम्मान गरेको थियो । त्यस्तै सोही कार्यक्रममा उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवा केन्द्रलाई पनि सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्