लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशका शहरी क्षेत्रमा ११ हजार स्मार्ट सडक बत्ती जडान

IMG

तिलोत्तमा सिटी २०८० भाद्र १८ गते । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत देशभर साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रीट लाइट) जडान गरिएको छ।नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा शहरका मुख्य चोकमा ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको जनाएको छ। प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करीब ४२ करोड रुपैयाँ योगदान गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।प्राधिकरणले स्थानीय तहसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक-सांस्कृतिक सम्पदास्थल, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।


प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि फिडर प्यानल जडान गरिएको प्राधिकरणले जनाएको छ। त्यसैगरी, सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन्।स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेयरबाट नै विद्युत्‌को महसूलको बिलिङ गरिने पनि प्राधिकरणले जनाएको छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। विद्युत्‌को महसूल भने सम्बन्धित स्थानीय तहले तिर्नेछन्।


ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका, कन्काई, बेलका, भीमेश्वर, भीमदत्त र फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ। भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको जनाइएको छ।काठमाडौं सहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ। सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी-बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान शुरू गर्न लागिएको छ।


सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरले र २५ प्रतिशत प्राधिकरणले बेहोर्ने लगानी साझेदारी रहनेछ। उपमहानगरमा सम्बन्धित उपमहानगरको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहनेछ।नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहनेछ। यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्नेछ।


लागत अनुमान, प्रविधिको छनोट, खरीद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्नेछ। जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्नेछ। नगरपालिकाले आफैं शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ।नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई झिलिमिली बनाउन मुख्य मुख्य चोकमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको प्राधिरणले जनाएको छ। 

 


कमेन्ट गर्नुहोस्