लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरु हुँदै

IMG

तिलोत्तमा सिटी । भाद्र १७ गते । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्रमा आज आइतबार निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले शनिबार साँझ प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफल सकेर आजै बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिनुभएको छ । प्रथम अधिवेशनको बन्दसत्र बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा हिजै साँझ ८ बजेपछि सुरु भएको थियोे ।


बन्द सत्रले वर्तमान प्रदेश कमिटी विघटन गरेर एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको अध्यक्षमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य सम्मिलित ९ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य कांशीराज अधिकारी, दलबहादुर राना, पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् । लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट छानिएर आएका १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनले शनिबार प्रस्तुत गरेको प्रतिवेदनमाथि अहिले विहान ८ बजेदेखि छलफल सुरु भएको छ ।


छलफल सकिएपछि आजै बिहान ११ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरी सकेसम्म आजैै निर्वाचन सम्पन्न गर्ने गरी तयारी भइरहेको निवर्तमान प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो । अधिवेशनले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल अध्यक्षका आकांक्षी हुनुहुन्छ् । यसअघि अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालयमा सहभागी नेताहरुलाई निर्देशन दिनुभएको थियो । केन्द्रीय सचिवालयमा उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायतका नेता छन् ।

कमेन्ट गर्नुहोस्