लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–नारायणगढ सडकखण्डको काम कछुवा गतिमा

IMG

तिलोत्तमा सिटी । भाद्र ९ गते । एसियाली विकास बैंकको ऋण सहयोगमा ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएर निर्माण थालेको बुटवल–नारायणगढ सडकखण्डको काम कछुवा गतिमा भैरहेको छ । २०७५ चैतबाट निर्माण सुरु भई ४२ महिनाभित्र सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको सडकका लागि अहिले समय थप गरि आयोजनाको म्याद एक वर्षलाई थपिएको छ । तर पनि कामले गति लिन नसकेको सरोकारवालाहरु बताउछन । आयोजनाका अनुसार सडकको भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्रै छ । दुई खण्डमा विभाजन गरि निर्माण थालिएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ ।


हालसम्म दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत मात्रै काम भएको छ । त्यस्तै, खर्चको हिसावले  पूर्वमा २९ प्रतिशत र पश्चिममा २३ प्रतिशत मात्रै खर्च गरिएको छ । गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार  र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाखमा ठेक्का सम्झौता भएको हो । सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड बुटवल–नारायणगढको ११४ किलोमिटर सडक सहरी भेगमा ‘सिक्स लेन’ र जङ्गली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार गरि दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो ।


पहिला तीन घण्टा लाग्ने बुटवल–नारायणगढको यात्रा गर्न अहिले ६ देखि ८ घण्टा समय लाग्ने गरेको छ । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवत–जावतको वातावरण सिर्जना गर्नुपर्ने स्थानीयले माग गरेका छन ।  नवलपुर गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण आर्थिक गतिविधिमा समेत असर पर्न थालेको गुनासो गर्नुभएको छ । 


पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले  खराब सडकका कारण गाडीको आयु ५ वर्ष घटेको बताउनुभयो । यता बुटवल–नारायणगढ सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर शशाङ्क मिश्र तथा पूर्वका सडक प्रमुख इन्जिनियर प्रकाश थापाले वर्षाका कारण अहिले धेरै काम नभए पनि तोकिएको मितिमा काम सम्पन्न गर्ने गरी आफूहरूले काम गरिरहेको बताउनुभयो  । पश्चिम खण्डका एकतर्फी अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । दाउन्ने पश्चिम खण्डमा बनाउनुपर्ने ठुला ९ वटा पुलमध्ये अहिलेसम्म ३ वटा बनिसकेका छन् । अन्य ३ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बाँकी ३ वटाको काम भइरहेको इन्जिनियर मिश्रको भनाइ छ । 


कमेन्ट गर्नुहोस्