
तिलोत्तमा, २०८० साउन ३२ गते। भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ ।भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा सावधानी नपुगेका कारण तस्कर समूहले ल्याएको सुनको जाँच पास गराएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो ।
विभागले गोप्य राखेको उक्त प्रतिवेदनमा भन्सारबाट सुनको जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँले भएको दाबी गरिएको छ ।‘भन्सारको प्रणालीबाट सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी र हेलचेक्र्याइँ हो,’ विभाग स्रोतले भन्यो, ‘यस्तो भुल सुधारका लागि तत्काल भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।’अनुुसन्धान प्रतिवेदनले देखाएको कमजोरी सुधार गर्न विभागले आवश्यक पहल थालेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।‘प्रतिवेदन पाएका छौं, सोही प्रतिवेदनका आधारमा विमानस्थल भन्सारको कमी कमजोरी सुधार गर्न १७ बुँदे निर्देशन पनि जारी भइसकेको छ,’ महानिर्देशक पौडेलले भने ।
प्रतिवेदनको निष्कर्ष
भन्सार विभागको प्रतिवेदनमा तस्करीको सुन भन्सार जाँच हुनुमा भन्सारको एक्सरे प्रणाली र त्यसको ह्याण्डलिङमा कमजोरी हुनु, भन्सार इन्टिलिजेन्स कमजोर रहनु, भन्सार जाँच पासमा संलग्न कर्मचारीको लापरबाही गर्नु र कार्यालय प्रमुखको अनुगमन तथा सक्रियता कमजोर भएको दाबी गरिएको छ ।तस्करको संगठित सञ्जालमा भन्सार प्रणाली प्रयोग गरेर सुन नभित्रिएको दाबी गर्दै विभागले असावधानी र कमजोर नियमनलाई मुख्य समस्या भनेको छ ।भन्सारको प्रतिवेदनमा सम्भावित सुन तस्करीमा विमानस्थल भन्सार कार्यालय आवश्यक मात्रामा चनाखो नभएको भनिएको छ । भन्सार हातामा अनावश्यक व्यक्तिको पहुँच र जाँच पासमा संलग्नदेखि प्रमुख भन्सार प्रशासकसम्मले हेलचेक्रयाइँ गरेको प्रतिवेदनमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्