लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नागरिकता नियमावलीको ड्राफ्ट भइसकेको छ, आगामी क्याबिनेटमा पेस गर्छौं : गृहमन्त्री श्रेष्ठ

IMG

तिलोत्तमा, साउन २४ गते २०८०। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताएका छन् ।बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए ।उनले भने, ‘नेपाली वास्तविक नागरिकहरुले नागरिकता पाउन सक्नेहरुलाई नागरिकता दिने अवसर खुला भएको छ । अब धेरै समस्या त्यति बाँकी छैनन् । यसलाई हामीले नियमावलीमार्फत हल गर्दैछौँ । नियमावलीको सम्पूर्ण ड्राफ्ट पूरा भइसकेको छ, हामी यही वा अर्को हप्ता क्याबिनेट लैजाँदैछौँ । त्यसमा कानून मन्त्रालयको अन्तिम राय बाँकी छ ।’


उनले नागरिकता पाउने नेपालीहरुले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताए ।‘नेपालमा दुई वटा कोणबाट नागरिकताको विवाद हुँदै आयो, एउटा त जेनियुन, जसले नागरिकता पाउनुपर्ने हो, तिनले पनि दुःख पाउने, उनीहरुले नागरिकता नपाउने, नागरिकता नपाउँदा जीवन नै बर्बाद हुनेकुरा हल गर्नका लागि नागरिकता ऐन आएको छ ।’ उनले भने ।उनले नेपाली महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानूनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताए ।


उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा अहिले संविधान र कानूनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । यसलाई सरलीकृत गरिएको छ । पहिला अंगीकृतको लागि पनि निस्सा चाहिन्थ्यो, अहिले स्वघोषणा भए पुग्छ ।’उपप्रधानमन्त्री श्रेष्ठले अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गरे ।


कमेन्ट गर्नुहोस्