
तिलोत्तमा सिटी । असार १९ गते । आईसीसी एकदिवसीय विश्व कप छनोटको अन्तिम खेलमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले सातौँ स्थानका लागि अस्ति भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेको तेस्रो खेल पनि हो ।
यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ । नेपाल विश्व कप छनोटमा समूह ’ए’ बाट ४ खेलमा ३ मा हार र एकमा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि ’सुपर सिक्स’ मा पुग्न सकेको थिएन । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदो अक्टोबर÷नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्