लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप छनोट - पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

tillotmacitynews - 2023 Jun 19 04:39 AM
IMG

तिलोत्तमा / असार ४ - एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।


हरारे स्पोर्टस क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । २ सय ९१ रनको विजयी लक्ष्य लिएर जवाफि व्याटिङमा उत्रिएको जिम्बावेका लागि कप्तान क्रेग एर्विन र सेन विलियम्सले शतकीय पारी खेलेपछि घरेलु टोलीले ४४ दशमलब १ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटएको हो ।


नेपाल माथि सहज जित निकाल्ने क्रममा एर्विन र विलियम्सले १ सय ६४ रनको अविजित साझेदारी गरे । ओपनिङ व्याटिङ गर्न आएका कप्तान एर्विनले १ सय २८ बलको सामना गर्दै अविजित १ सय २१ रन जोडे । त्यस्तै विलियम्सले विस्फोटक व्याटिङ गर्दै ७० बलमा १ सय १ रनको योगदानगरे। नेपालकालागि सोमपाल कामी र गुलशन झाले समान एक–एक विकेट हातपारे ।


यसअघि पहिले व्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आरिफ सेखले पहिलो विकेटका लागि १ सय ७१ रनको किर्तिमानी साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो साझेदारी हो । किर्तिमानी साझेदारी गर्ने क्रममा भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रन बनाए । एक रन थप्न नसक्दा उनी एकदिवसीय अन्तराष्ट्रियमा दोस्रो शतक बनाउनबाट चुके । यसअघि आसिफ र ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध फेब्रअरीमा दोस्रो विकेटमा १ सय ३९ रन जोडेका थिए । अर्का ओपनर आसिफले एक सय बलमा ७ चौका प्रहार गर्दै ६६ रन जोडे ।


यस्तै, कुशल मल्ल ४१ र कप्तान रोहित कुमार पौडेल ३१ रन जोडे । जिम्बावेका रिचर्ड नगराभाले सर्वाधिक ४ विकेट लिए । नेपालले आगामी खेल मंगलबार संयुक्त राज्य अमेरिकासँग खेल्दै छ । यसैबीच, विश्वकप छनोट अन्तर्गतको अर्को खेलमा वेस्ट इन्डिजले अमेरिका ३९ रनले पराजित गरेको छ । 

कमेन्ट गर्नुहोस्