लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

tillotmacitynews - 2023 Jun 16 11:00 PM
IMG

तिलोत्तमा,असार १ गते २०८०। नेपालमा पहिलो पटक 'एमपक्स' अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताउनुभयो । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डाैकाे एक अस्पतालमा डाक्टरकाे निगरानीमा उपचार गराइरहेका छन् । 


अर्थोपोक्स भाइरस परिवारको मङ्कीपक्स भाइरसबाट हुने यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सन् १९८० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा देखिएको मङ्कीपक्स त्यसयता निरन्तर देखिइरहेको छ । अघिल्लो वर्षदेखि यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । मङ्कीपक्स भाइरस सार्ने स्रोतबारे यकिन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मङ्कीपक्स सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका विभिन्न भागमा फोका हुँदै पाप्रा उप्कने, टाउको, ढाड र मांसपेशी दुख्ने, आँखामा सङ्क्रमण भई दृष्टीविहीन हुन सक्ने, निमाेनिया हुनेजस्ता लक्षण र मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


यो भाइरस सङ्क्रमण भएपछि शरीरमा पानीसहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँभित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर सङ्क्रमण हुन सक्ने साथै सङ्क्रमित व्यक्तिको सिँगान, कफ तथा कपडा प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम हुन्छ ।स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा सम्भावित लक्षण भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, हात धुने, स्यानिटाइजर प्रयोग गर्नेलगायतका सावधानी अपनाउन भनिएको छ । यस्तै लक्षण देखिएमा सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।



कमेन्ट गर्नुहोस्