लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गगनले गर्जिदै भने :राष्ट्रपति ज्यू उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्छु भन्नुहोस्

tillotmacitynews - 2023 May 01 09:38 PM
IMG

तिलोत्तमा, वैशाख १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् ।सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन् । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने थापाको भनाइ छ।


'म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहान्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानुनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ । त्यसैले यो कानुनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरूले भनिसकेपछि त्यो चिकित्सकिय कुरा हो । परिवारले गर्ने निर्णयको कुरा हो । तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट । यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’


राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न थापाको आग्रह छ । गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनु नहुने बताए ।‘हामीले संसदबाट एउटा कानुन बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौँ । सबै समान हुन्छ भन्यौँ । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने । तर नागरिक चाहीँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ ।'


थापाले कांग्रेसले विगतमा निर्वाचनअगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने बताए ।उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्युनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गरे । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरूलाई आह्वान गरे ।

कमेन्ट गर्नुहोस्