लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपाको सिट बढ्यो,उपेन्द्र यादव संसद छिरे

IMG

तिलोत्तमा,२०८० बैशाख १३। उपचुनाव भएका तीनवटै क्षेत्रको नतिजा आएको छ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । गएको आइतबार वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपचुनाव भएको थियो । यो उपचुनावमा नेपाली कांग्रेसले एक क्षेत्र गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक क्षेत्र थपेको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पनि पूरा भएको छ ।


तनहुँ–१ मा कांग्रेसलाई धक्का, एमालेको भोट ११ हजारले घट्यो

उपचुनावमा ठूला दलले आफ्नै मत जोगाउन सकेनन् । कांग्रेसले गढ मानिएको तनहुँँ–१ नै गुमाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुनुभयो । वाग्ले एक महिनाअघि मात्रै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बन्नुभएको थियो। गएको मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रबाट वर्तमान राष्ट्रपति एवं त्यतिबेलाका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । उहाँले २५ हजार ३ सय ६१ मत पाउनुभएको थियो । तर यसपाली पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसँग पराजित हुनुभयो । पौडेलले प्राप्त गरेको मत नै ५ हजार २ सय भन्दा धेरै घटेको छ । कांग्रेसले आफ्नो मत नै जोगाउन सकेन ।त्यस्तै तनहुँ–१ मा एमालेको पनि मत घटेको छ । उपचुनावमा एमालेका सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतसहित तेस्रो हुनुभयो । मंसिरमा भएको चुनावमा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याउनुभएको थियो । मंसिर ४ को तुलनामा एमालेले ११ हजार ४ सय ९३ मत गुमाएको छ ।


चितवन–२ मा रवि लामिछानेलाई पहिलेको भन्दा पनि धेरै मत

सर्वाधिक मतान्तरको रेकर्ड राख्दै चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने विजयी हुनुभयो । लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरसहित निर्वाचित हुनुभयो । उपचुनावमा चितवन–२ मा कुल ७८ हजार ६ सय ६४ मत खस्दा उहाँले ५४ हजार एक सय ७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत ल्याउनुभयो ।मंसिर ४ मा भएको चुनावमा लामिछानेले ४९ हजार ३ सय मत ल्याउँदा निकटतम प्रतिस्पर्र्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाउनुभएको थियो । अघिल्लोपटकको मतसँग तुलना गर्दा कांग्रेसको ३ हजार ७ सय ७४ मत घटेको छ । त्यतिखेर एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने यसपटक एमालेको मत ३ हजार ७ सय १६ घटेको छ । 


उपेन्द्र यादवको संसद छिर्ने चाहना पूरा

प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पूरा भएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । उपेन्द्र यादव मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुनुभएको थियो । मंसिरमा भएको चुनावमा पराजित भएपछि संसद छिर्नकै लागि उहाँले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमा आफू उम्मेदवार बन्नुभएको थियो ।


मंसिर ४ मा बारा–२ मा तत्कालीन सत्तागठबन्धन र जसपा–एमाले विपक्षी मोर्चाबीच प्रतिस्पर्धा थियो । सत्तागठबन्धनबाट माओवादीका शिवचन्द्रप्रसाद कुशवाहा र विपक्षी गठबन्धन जसपाका रामसहाय प्रसाद यादव उम्मेदवार हुनुहुन्थ्यो । प्रत्यक्षतर्फ जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ र त्यसबेला माओवादीका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउनुभएको थियो । कुशवाहा उपचुनाव अघि चैत १५ मा माओवादी छाडेर सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गर्नुभएको हो । उपचुनावमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी छोड्न बाध्य भएको कुशवाहाले बताउनुभएको थियो ।प्रमुख राजनीतिक दलका नेताले उपचुनावको मतपरिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पुर्‍याएको प्रतिक्रिया दिएका छन् । तनहुँ, चितवन र बारामा भएको उपचुनावको नतिजापछि उनीहरुले संविधान र कानुन मानेर स्वस्थ प्रतिस्पर्धाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्