
तिलोत्तमा,२०८० बैशाख १२।लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् ।विश्वासको मत नपाएको नेकपा एमालेले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।महान्यायाधिवक्ताको परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।नेकपा एमालेले मुख्यमन्त्रीले राजनीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो ।८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।
कमेन्ट गर्नुहोस्