
तिलोत्तमा सिटी । बैशाष १० गते । लुम्बिनी प्रदेश सरकारले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि १३ वटा मन्त्रालय र १७ जना मन्त्री रहेकामा गिरी नेतृत्वको सरकारले ३ वटा मन्त्रालय र ७ जना मन्त्री कटौती गरी प्रशासनिक खर्च घटाएकोलाई मुख्य उपलब्धी भनेको छ । सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले विगतको १७ सदस्यीय ठूलो आकारको मन्त्रिपरिषद्लाई घटाएर १० मा सीमित गरी राज्यको अनावश्यक खर्च कटौती गरिएको दाबी गरे मन्त्री आचार्यले शनिबार सरकारका उपलब्धी सार्वजनिक गर्न आयोजित कार्यक्रममा भने, ‘मन्त्रालयको संख्या घट्दा पूर्ववर्ती सरकारको पालामा भन्दा प्रति महिना ४७ लाख ९४ हजार बचत हुने गरेको छ ।’ यसअघि चार हजार ४३६ जनाको दरबन्दी रहेकोमा ४४ वटा दरबन्दी कटौती गर्दा कर्मचारी दरबन्दी हाल चार हजार ३९२ रहेको छ । प्रशासनिक खर्च विगतमा प्रतिमहिना ६३ करोड ६८ लाख २४ हजार हुने गरेकोमा हाल ६३ करोड २० लाख ३० हजार रुपैयाँ भएको उनले बताए ।
प्रदेश राजधानीमा ३ वर्षमा सम्पन्न गर्नेगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका प्रशासनिक भवन शिलान्यास गरी निर्माण कार्यलाई तीब्रता दिइएको सरकारको उपलब्धीमा उल्लेख छ । राजधानी विकास जग्गा एकीकरण आयोजनाअन्तर्गत देउखुरीमा १४ प्याकेजमा परामर्शदाता छनौट गरी सो क्षेत्रमा जग्गा एकीकरण तथा नाप नक्सांकन अगाडि बढेको, पूर्वाधार विकासतर्फ सय दिनमा २८ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको, पाँच वटा सडक पुल निर्माण भएको र ७३ वटा कल्भर्ट निर्माण भएको, एउटा झोलुंगे पुल, १२ वटा सडक ट्याक खोलिएको, २३ किलोमिटर पक्कि नाला निर्माण गरिएको विषय पनि सरकारले १०० दिनको उपलब्धीमा राखेको छ ।
्
कमेन्ट गर्नुहोस्