
तिलोत्तमा,२०७९ चैत्र ७। लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेका थिए । सोही तयारीका लागि सोमबार गठबन्धन दलको बैठक पनि बसेको थियो । नयाँ गठबन्धन दलको बैठकपछि सदन स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले सोमबार साँझ सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जनाएको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको बैठक सभामुख तुलाराम घर्तीको निर्देशानुसार स्थगित गरिएको जनाएका छन् । अर्को बैठकको सूचना पछि प्रकाशित हुने उनले बताए ।
माओवादीनिकट स्रोतका अनुसार मुख्यमन्त्री लिला गिरी र सभामुख घर्तीबीच सरकारकै विषयमा कुराकानी भएपछि बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्