लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६० लाख लगानीमा मायादेवी मन्दिरमा फेरियो आधुनिक गजुर

tillotmacitynews - 2023 Feb 21 11:52 PM
IMG

तिलोत्तमा,२०७९ फाल्गुण ९ गते। बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरमा आधुनिक गजुर राखिएको छ  ।  गजुर जीर्ण भएपछि लुम्बिनी विकास कोषलेले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखेको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ । मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ ।


यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताउनुभयो । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रती कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिनुभयो ।


गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को  कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगर स्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताउनुभयो । उहाँका अनुसार दाताले बुद्धप्रती श्रद्धा राखेर गजुर स्थापना गरेका हुन । आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो।  नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ ।

कमेन्ट गर्नुहोस्