लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल विविधता भएको राष्ट्र हो : प्रधानमन्त्री प्रचण्ड

IMG

तिलोत्तमा,२०७९ माघ ८ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।आइतबार २८५९ औँ सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताउनुभयो।प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। 


यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतिको वर्चस्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्व कालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कहीँ न कहीँ विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रूपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।”उहाँले ठूलो सङ्घर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्नुभयो। 


“लामो सङ्घर्ष र बलिदानपछि उत्पीडित जाति, समुदायको हक, अधिकारका लागि ठूलै सङ्घर्ष र बलिदानपछि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक र समावेशीको मान्यताअनुसार हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौँ”, प्रधानमन्त्रीले भन्नुभयो।उहाँले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो। राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ।यसैगरी, उहाँले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्नेसमेत जानकारी गराउनुभएको छ।



कमेन्ट गर्नुहोस्