
तिलोत्तमा, पौष ११,२०७९।नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देशको बर्तमान अवस्थाबारे प्रतिबेदन बुझाउन मन्त्रालयका सचिवलाई आग्रह गर्नुभएको छ। उहाँले हाल देशमा के भैरहेको छ, त्यसको खुल्ला रिपोर्ट बुझाउन सचिवलाई आग्रह गर्नुभएको हो। सपथपछि उहाँले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेकाे छैन ।
उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएकाे बताउँदै आफूलाई यही मन्त्रालय राेजेकाे प्रतिक्रिया दिनुभयाे । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयकाे बारेमा सबैभन्दा धेरै गुनासाे आउने गरेकाे उहाँले सुनाउनुभयाे । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयाे । मन्त्रिपरिषदमा पनि प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने लामिछानेले उल्लेख गर्नुभयाे ।मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्याे विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्