
तिलोत्तमा, पौष १०, २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।
तेस्राे पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएकाे थियाे ।राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । त्यसको समयसीमा आजै बेलुकी ५ बजे सकिएको हो । त्याे समयसीमा अघि नै प्रचण्डले तीन स्वतन्त्रसहित एक सय ६९ सांसदकाे समर्थनमा दाबी पेस गर्नुभएकाे थियाे ।
प्रचण्डलाई ३ स्वतन्त्रसहित १ सय ६९ जना सांसदकाे समर्थन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ ।जसमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।राष्ट्रपति भण्डारीलाई पेस गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दलका नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंहले पनि समर्थन गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्