
तिलोत्तमा, २०७९ मङ्सिर १ गते। चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ ।लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ ।
सो स्पष्टीकरण लामिछानेको सचिवालयले बुझेको थापाले बताए ।लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको उनले जानकारी दिए । लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दावी उजुरीमा छ । उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेको उजुरीमा उल्लेख छ ।मुख्य निर्वाचन अधिकृत थापाका अनुसार लामिछानेले एक सातामा जवाफ पठाउनुपर्छ ।
कमेन्ट गर्नुहोस्