लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समानुपातिकको बन्दसूची दलहरुले आज बुझाउँदै : उम्मेदवार छनोटमा सकस

tillotmacitynews - 2022 Sep 19 08:44 AM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज ३। प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ ।निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन ।


आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन्।


निर्वाचन आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।दलले बुझाएको विवरणमा समूह फरक परेको, उम्मेदवारको स्व:घोषणा नभएको, नागरिकता, मतदाता परिचयपत्र नरहेको भए संशोधन गरेर ल्याउन समय दिइने समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्