
तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९।नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो गठन गरेको छ ।बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
अधुरो स्थायी कमिटी, चुनिएनन् पदाधिकारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै नेताहरुको नाम पढ्न थाले । तर नेताहरुको नामको सूची तीन पटक पढ्दा पनि पोलिटव्यूरोमा कोको परे भन्ने प्रष्ट हुन सकेको छैन । स्थायी कमिटी पनि अपूरो बनेको छ भने पदाधिकारीसमेत नबनाई माओवादी केन्द्रीय समितिको तेस्रो बैठक सकिएको छ । १९ असारमा सुरु भएको यो बैठकले पार्टीको भद्रगोललाई थप उदाङ्गो पार्नेबाहेक अरु नगरेको नेताहरु टिप्पणी गर्छन् ।
प्लिज नाम पढ्न नलगाउनुस्
बुधबार विहानसम्म माओवादी केन्द्रका नेताहरु यो पटकको केन्द्रीय समिति बैठकले पदाधिकारी टुंगो लगाउनेमा आशावादी थिए । प्रचण्डले पनि सहमतिमा पदाधिकारी टुंगो लगाउने भन्दै मतदान नमाग्न नेताहरुलाई आग्रह गरेका थिए । अरु पदमा ठूलो विवाद थिएन, महासचिवमा भने धेरै आकांक्षी थिए । वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल लगायतको दाबी थियो ।प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव राखे र पोलिटव्यूरोमा रहेका नेताहरुको नाम पढे । नेताहरु छुटेको भन्दै हलमा गाइँगुइँ हुन थालेपछि प्रचण्डले अर्को एउटा पनि सूचि छ भन्दै पढे । जति नाम पढ्दै गए, उनी अलमलमा पर्दै गए ।
पार्टीमा वर्षमान र जनार्दन दुबैको गुट छ र उनीहरुका लागि लबिइङ पनि चर्को भएको थियो । तर दुईमध्ये एक रोज्न नसक्ने अवस्था भएकाले प्रचण्डले देवप्रसाद गुरुङ र पम्फा भुसालमध्ये एकलाई महासचिव बनाउने संकेत गरेका थिए ।तर जर्नादन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि उनी संकटमा परेको नेताहरु बताउँछन् । शर्माले मन्त्रीबाट राजीनामा दिएपछि अब पार्टीको जिम्मेवारी दिनुस् भनेकाले प्रचण्ड अप्ठ्यारोमा परेको एक नेताले बताए ।केन्द्रीय समितिको बैठकमा पनि प्रचण्डले पदाधिकारीको सूचि लगभग तयार भएको बताएका थिए । ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, तर प्लिज पढ्न नलगाउनुस्,’ प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन, सबैको अनुहार उज्यालो बनाउन २–४ दिन दिनुस् ।’
प्रचण्डले २–४ दिनमा गृहकार्य सक्ने भने पनि अर्थमन्त्रीमाथि संसदीय विशेष समितिले छानबिन नसकिएसम्म पदाधिकारी टुंगिने सम्भावना कम रहेको नेताहरु बताउँछन् । ‘अब जर्नादन शर्मा र वर्षमान पुनमध्ये एक जना महासचिव बन्नुहुन्छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘छानबिनबाट सफाइ पाए शर्मा अर्थमन्त्री बन्नुहुन्छ र महासचिव वर्षमान बन्नुहुन्छ । जर्नादन दोषी ठहरिए उहाँ पार्टीको महासचिव बन्नुहुन्छ र नयाँ अर्थमन्त्रीमा वर्षमान जानुहुन्छ ।’
कमेन्ट गर्नुहोस्