लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आइतबारबाट ५ देखि ११ वर्षका बालबालिकालाई खोप

IMG

तिलोत्तमा सिटी न्युज, असार ११ गते २०७९। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले आइतबारबाट जिल्लामा रहेका ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाउने तयारी गरेका छ । दुई चरणमा लगाईने खोपको सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाईजरको सहकार्यमा विकास गरिएको फाइजर बायोएनटेक नामक खोप सबै भन्दा सुरक्षित रहेको स्वास्थ्य कार्यालयको भनाई छ । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार खोपको प्रभावकारीता ९१ प्रतिशत बढी रहेको जनाए । उनले खोप लगाउने सम्पूर्ण तयारी पुरा भई सकेको बताए । स्वास्थ्य शाखाका १६ वटै पालिकाका प्रमुख, शिक्षा शाखा प्रमुख र शिक्षा समन्वय समितिको सहकार्यमा सम्पूर्ण बिद्यालयहरुमा खोेप दिईने कार्यक्रम रहेको उनले जनाए ।


रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ बर्ष उमेर समूहका १ लाख ४४ हजार ८ सय ५५ जनालाई खोप दिईने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दियो । कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाका १६ वटा पालिकामा ९ सय ६६ वटा खोप केन्द्र तय गरिएको छ । खोपको लागी १ हजार ५२ जना खोप कार्यकर्ता र १ हजार ८ सय ९२ जना स्वयम सेवक परिचालन गरिनेछ ।रुपन्देहीमा पहिलो चरणमा असार ११ गते देखी तिलोत्तमा नगरपालिका, लुम्बिनी नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा खोप दिइनेछ । यस्तै बुटवल उप महानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र मायादेवी गाउँपालिकामा १५ गते देखी खोप दिईने छ ।


५ देखी ११ बर्षका बालबालिका बिद्यालयमा नै रहने कारणले बिद्यालयलाई नै खोप केन्द्र तोकिएका छ । रुपन्देहीका केही बिद्यालयहरुमा बर्षे बिदा भएको कारण खोप लगाउने दिन बिद्यार्थीहरुलाई बिद्यालयमा बोलाइने छ ।खोपको प्रभावकारीता बढी भएको कारण खोप अभियानमा सम्पूर्ण बालबालिकालाई सहभागी गराई दिन स्वास्थ्य कार्यालयले अभिभावक र सम्पूर्ण सरोकारवालामा अनुरोध समेत गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालयले नेपालमै सबै भन्दा बढी खोप रुपन्देहीमा लगाईएको दावी गरेको छ । नेपालको सरदर पहिलो मात्राको खोप लगाएका ८५ प्रतिशत एवम दोश्रो मात्राको खोप लगाएका ७० प्रतिशत मात्र रहेको छ । तर रुपन्देहीमा पहिलो मात्रा १ सय २ प्रतिशत र दोश्रो मात्रा १ सय प्रतिशत बढीले लगाएको कार्यालयको भनाई छ । जिल्लामा अन्य जिल्लाबाट काम गर्न आउने तथा बसाई गरिरहेका समेतको संख्या जोडेर प्रतिशत बढी आएको हो ।


रुपन्देहीमा ८ लाख ३५ हजार ७ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८ लाख ४२ हजार जनालाई खोप लगाईएको खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । रुपन्देहीलाई पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमले लक्ष्य भन्दा बढी खोप लगाउनुमा सहयोग गरेको शर्माको भनाई छ । अहिले जिल्लामा सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका गरि ७ वटा पालिका पूर्ण खोप घोषणा भई सकेका छन् । अन्य पालिकाहरु पनि अहिले घोषणाको प्रक्रियामा रहेका छन् ।

कमेन्ट गर्नुहोस्