लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री देउवाकाे भूमिका सन्ताेषजनक : शशांक काेइराला

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पार्नुभयो । आज सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिनुभयो । पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।  



उहाँले भन्नुभयो, ‘हरेक निर्णय गर्दा देउवाजीले सबैसँग सल्लाह गर्नुहुन्छ । सर्वदलीय बैठकमा मुख्य–मुख्य मान्छेहरू गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णय ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारी सबैले आ–आफ्नो भूमिका पाइरहेका छन् । ’नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो नि ? भन्ने सञ्चारकर्मीहरूको प्रश्न थियो । त्यो अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको नेता कोइरालाको जवाफ थियो । 


कमेन्ट गर्नुहोस्