लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्री शर्मा भन्छन : बजेट चुनावलक्षित छैन, पुर्ण कार्यान्वयन हुन्छ

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९।  आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले परम्पराअनुसार बजेटबारे थप स्पष्ट पार्न सोमबार पत्रकार सम्मेलन आयोजना गरे ।चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनी आलोचना भइरहेका बेला अर्थमन्त्री शर्माले बजेट खर्च हुने दाबी गरे ।उनका अनुसार बजेटको आकार चालु आर्थिक वर्षको भन्दा ९.८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा १० प्रतिशत ठूलो बजेट ल्याइएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको आकार कुल गार्हस्थ्य उत्पादनको ३७ प्रतिशत हाराहारी हो ।


अर्थमन्त्री शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा बजेटको आकार जीडीपीको ३९ प्रतिशत थियो । बजेटको आकारलाई एकै पटक घटाउन नसकिने भन्दै उनले गाडीको उदाहरण दिएका हुन् । उनले भने, ‘गाडी पनि त एकै पटक रोकिदैन नि ।’


चुनावी बजेट नभएको दावी

सरकारले यस वर्ष तुलनात्मक रुपमा वितरणमुखी बजेट ल्याएको छ । ६८ वर्षमै वृद्धभत्ता दिने, कर्मचारीको तलब बढाउने, किसान पेन्सन, हरेक परिवारलाई इन्डक्सन चुलो वितरणजस्ता कार्यक्रम चुनाव लक्षित भएको आलोचकहरुले बताएका छन् । तर अर्थमन्त्री शर्मा बजेटलाई चुनाव लक्षित नभएको जिकिर गर्छन् ।‘नयाँ कार्यक्रम ल्याएका छैनौं, विगतदेखिका कार्यक्रमलाई निरन्तरता दिँदा चुनावी कार्यक्रम भन्ने हो भने ४/५ वर्षदेखि नै बजेट चुनाव लक्षित आइरहेको छ भन्नु पर्‍यो नि’, उनले अगाडि भने, ‘उत्पादन बढाउँछु भन्नु, आत्मनिर्भर बनौं भन्नु चुनावी कुरा हो र ? युवालाई तालिम दिने चुनावी कुरा होइन । कर्मचारीको तलव ऐन अनुसार बढेको हो, किसान पेन्सको विषय विगतकै निरन्तरता हो ।’


अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा संयुक्त प्रतिवद्धताको आवश्यकता औल्याए । ‘बजेट मेरो गाउँको बाटोमा रकम पर्‍यो कि परेन भन्ने विषय मात्र होइन, बजेट जनताको हातमुख जोड्ने, राष्ट्रलाई समृद्ध बनाउने पनि हो ।’बजेटमा राखिएका कार्यक्रममा पूर्वाधार परेनन् भन्दै आउने आलोचनालाई उनले रोजगारी सिर्जना र गरिबीको अन्त्य गर्ने कार्यक्रमसँग जोड्न आग्रह गरे । पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विपन्न मैत्री बजेट बनाउन भरपुर प्रयास गरेको बताए ।

कमेन्ट गर्नुहोस्