लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल-गोरखपुर प्रसारण लाइनको वैदेशिक लगानी गर्न स्वीकृति

IMG

तिलोत्तमा सिटी, जेष्ठ ३ गते २०७९ । नेपाल विद्युत प्राधिकरणले न्यु बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तर्राष्ट्रिय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानीका लागि स्वीकृति पाएको छ ।भारत सरकारले प्रसारण लाइन आयोजनाका लागि भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ ।न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ । नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैंले गर्नेछ ।


नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यु बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताए ।


नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।

कमेन्ट गर्नुहोस्