
तिलोत्तमा सिटी,२०७९ बैशाख २७ गते । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ । आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?
-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
- निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
- मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
- एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।
कमेन्ट गर्नुहोस्