लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा पाँचदलीय गठबन्धनकाे संकल्प पत्र सार्वजनिक

IMG

तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । पाँचदलीय गठबन्धनले बुटवललाई कुनै दल बिशेषको मात्रै नभएर सबै राजनीतिक दलको साझा थलोकाे रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गरेका थिए ।


संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका थिए । उनीहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूतिगर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका थिए । साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरणसार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

संकल्प पत्रमा भनिएको छ–‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ ।मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’ पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् । घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ । स्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पु¥याइने, सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमिततामुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।


हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ । बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ । यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । 


बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ । यस्तै संकल्प पत्रमा आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुर्नस्थापना गर्ने योजना पनि संकल्प पत्रमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्