
तिलोत्तमा सिटी, बैशाख १५ गते, विस २०७९ साल । संघीय राजधानी काठमाडौंको चुनावी मैदानमा कांग्रेस नेतृ सिर्जना सिंह र एमाले नेता केशव स्थापितको जति चर्चा भइरहेको छ, स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि उनीहरुलाई पछ्याइरहेका छन् । काठमाडौं महानगरको प्रमुख पदमा राप्रपा र साझा विवेकशीलले पनि उम्मेदवारी दिएका छन्। तर, स्वतन्त्र उमेदवार बालेनका अगाडि साना पार्टीहरू ओझेलमा पो पर्ने हुन् कि जस्तो देखिन थालेको छ । सधैंझैँ यसपालि पनि स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका विशेष चर्चामा छ। सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह महानगर प्रमुखमा उम्मेदवार छिन् भने प्रमुख प्रतिपक्षी एमालेले पूर्वप्रमुख केशव स्थापितलाई अघि सारेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पाका कलाकार मदनदास श्रेष्ठलाई महानगर प्रमुखमा अघि सारेको छ। सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् भने स्थापित काठमाडौँका पूर्वप्रमुख हुन्। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले यसपालि काठमाडौंको प्रमुख र उपप्रमुख दुबैमा महिलालाई उठाएको छ। प्रमुखमा समीक्षा बाँस्कोटा र उपप्रमुखमा कीर्ति तुलाधरलाई विवेकशील साझा पार्टीले उम्मेदवार बनाएको छ। गत ०७४ को स्थानीय निर्वाचनमा काँग्रेस र एमालेलाई टक्कर दिँदै रञ्जु दर्शना र किशोर थापा काठमाडौंको महानगर प्रमुखमा उठ्ने नयाँ अनुहार थिए । यसपटक त्यो ठाउँ स्वतन्त्र उम्मेदवार बालेन शाहले पूर्ति गर्न खोजेका छन् ।
को हुन् बालेन ?
काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका ३१ वर्षीय बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । काठमाडौंको नरदेवीमा जन्मे हुर्केका शाह अहिले तीनकुने गैरीगाउँका बासिन्दा हुन्। उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्।बालेन चर्चित नेपाली र्यापर हुन् । उनको पहिचान म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरसमेत हो । बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी बाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उमेरले ३१ मा हिँडिरहेका उनी पेशाले र्यापर तथा इन्जिनियर हुन्। नेपालमा सिभिल इन्जिनियरिङ पढेपछि शाहले भारतमा स्ट्रक्चरल इन्जिनियरिङका स्नातकोत्तर गरेका हुन् । स्ट्रक्चरल इन्जिनियरका रुपमा देशका ७६ मध्ये ६६ जिल्ला घुमिसकेको बताउने शाह काठमाडौंको मुहारलाई फेर्न आफूलाई मत दिन आग्रह गर्दै घरदैलो अभियानमा छन् । नेपाली र्याप ब्याटल लिगका सिजन टु का बिजेता शाहको अभिरुचि राजनीतितर्फ देखिएको १० वर्षअघि नै हो। तर, उनी अहिले आएर स्थानीय तह, त्यो पनि उपत्यकाको महानगर प्रमुख पदको प्रत्याशीका रुपमा राजनीतिमा होमिएका छन् । न त उनीसँग कुनै पार्टीको संगठित सदस्यता छ, न कुनै पूर्वराजनीतिक अनुभव नै। तैपनि उनी प्रमुख पदमा स्थापित राजनीतिक पार्टीका हस्तीसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।
०७४ मा काटिएको कांग्रेस–एमालेको भोट
गत ०७४ को स्थानीय चुनावमा काठमाडौंमा प्रमुखका प्रत्यासी रहेका स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए ।तुलनात्मकरुपमा असल प्रशासकको छवि बनाएका थापा त्यसबेला साझा पार्टीका नेता थिए । तर, उक्त दल निर्वाचन आयोगमा दर्ता भइनसकेकाले उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसैगरी तत्कालीन विवेकशील नेपाली दलका तर्फबाट रञ्जु न्यौपाने दर्शना काठमाडौँ महानगरको प्रमुखमा उठेकी थिइन्। उनले त्यसबेला २३ हजार ४३९ मत पाएकी थिइन् । ठूला दल एमाले, माओवादी र कांग्रेसका उम्मेदवारभन्दा बढी चर्चा त्यसबेला यी दुई प्रत्यासीको भएको थियो। उनीहरुले पाएको मत पनि सम्मानजनक नै थियो। थापा र दर्शनाले त्यसबेला ठूला पार्टीको ४१ हजार ९३५ मत काटेका थिए । माओवादीले ०७४ को चुनावमा काठमाडौं महानगरमा ७ हजार ९०६ मत ल्याएको थियो भने नयाँ शक्ति (हालको जसपा) ले ६ हजार ५० भोट पाएको थियो। प्रमुखमा उठेका अन्य उम्मेदवारले पाएको कुल मत १ हजार २१३ थियो ।
के छ प्रतिबद्धता पत्रमा ?
बालेनले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, सुरक्षा, पूर्वाधार, डिजिटल सरकार, पानी ब्यबस्थापन, सम्पदा, कृषि र खेलकुद लगायत गरी २५ क्षेत्रबारे आफ्नो योजना उल्लेख गरेका छन्।
प्रतिबद्धतापत्रमा जन्म दर्ता, विवाह दर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी गरिने उल्लेख छ।
पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारका लागि कल सेन्टर स्थापना गरिने बालेनको प्रतिबद्धता छ।
उनले सुशासन कायम गर्ने कुरामा पनि जोड दिएका छन्। भ्रष्टाचारविरुद्ध विशेष फोर्स गठन तथा सबै कार्यालयमा सिसिटिभी राख्ने उनको योजना छ।
रोजगारी र उद्यमशीलता प्रवर्द्धनको लागि ‘आइडिया बैंक’ को अवधारणा बालेनले अघि सारेका छन्।
स्थानीय उत्पादनलाई प्रबर्धन गर्न हरेक मार्टमा २० प्रतिशत ठाउँ स्थानीय उत्पादनलाई दिइने उनको योजना छ।
युवाहरुको लागि करियर परामर्श र कोचिङका योजना पनि उनीसँग छन्।
त्यसैगरी ‘स्टार्टअप’ शुरु गर्न महानगरले सिड मनी दिने अवधारणा पनि उनको प्रतिबद्धतामा छ। राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोलेर अन्वेषणलाई प्रबर्द्धन गर्ने उनको योजना छ।
सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने उनको योजना छ।
‘अहिले काठमाडौंबासी घरबहाल कर तिर्न समेत उत्साहित छैनन् किनकी उनीहरुले कर तिर्दाको फाइदा के हुन्छ र नतिर्दा के हुन्छ भन्ने थाहा छैन। हामीले उनीहरुलाई प्रोत्साहित गर्न केही अरु कुरामा सुबिधा दिन सकिन्छ, त्यसो गर्दा उनीहरुले सहज कर तिर्छन्, जसबाट महानगरको राम्रो आम्दानी हुन्छ’ बालेनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।
करको दायरामा आउने सबैको स्वास्थ्य बिमा गर्न सकिने उनको भनाई छ। बालेनले निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गर्ने योजना पनि बनाएका छन्।
आफ्नो प्रतिबद्धतापत्रमा उनले ७० वर्ष माथिका बृद्ध वृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने उल्लेख गरेका छन्।
सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति गर्ने तथा बस स्पटहरुमा फल्चा स्थापना गरिने उनको प्रतिबद्धतापत्रमा छ। सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाइभ टेलिकास्ट गरिने उनले उल्लेख गरेका छन्।
काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने बालेनले उल्लेख गरेका छन्।
सबै ढुंगेधारा हिटी पुनर्जागृत गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने उनको योजना छ।
अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गर्ने योजना
बालेनले स्थानीय संस्कृति प्रबर्द्धनमा पनि जोड दिएका छन्। अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने उनको प्रतिबद्धता पत्रमा छन्।
काठमाडौमा रहेको फोहर ब्यवस्थापन समस्यालाई सम्बोधन गर्न अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरूमा जैविक मल उपलब्ध गराइने उनले प्रतिबद्धता पत्रमा लेखेका छन्।
वातावरण संरक्षणका लागि उनले ‘एक घर एक रुख अभियान’ सुचारु गरिने जनाएका छन् ।
कमेन्ट गर्नुहोस्