लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको कुन पालिकामा कुन दलको दाबी ?

IMG

तिलोत्तमा सिटी,बैशाख ६ गते २०७९। सत्ता गठबन्धनले रुपन्देहीका ६ वटा स्थानीय तहमा तालमेल नगर्ने सहमति गरेका छन् । जिल्लाको दक्षिणी भेगको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।ती पालिकामा नेकपा एमाले कमजोर रहेकाले गठबन्धनमा आवद्ध दलले नै जित्ने भन्दै गठबन्धनकाबीच नै स्वच्छ प्रतिष्पर्धा गर्ने उनीहरुको भनाई छ। जिल्लाका यी पालिकामा नेकपा एमाले कमजोर रहेकाले गठबन्धन नगर्ने सहमति भएको जनता समाजवादी पार्टीका जिल्ला सह–इन्चार्ज किस्मत बि.क.ले बताए ।


बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा गठबन्धन गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले १० वटै पालिकाको प्रमुखमा दाबी गर्दै आएको छ । सकेसम्म गठबन्धनमा आवद्ध अरु दललाई उपप्रमुख र उपाध्यक्षमा मनाउने कसरतमा कांग्रेस छ ।नेपाली कांग्रेसका जिल्ला सचिव हरि काफ्लेले पालिका प्रमुख आफूहरुले लिएर सबै पालिकाको उपप्रमुख/उपाध्यक्ष गठबन्धनमा आवद्ध दलहरुलाई दिन सकिने बताउँछन् । साथै पालिकामा दलहरुको जनमतको आधारलाई हेरेर वडाध्यक्षको सिट बाँडफाँड गर्नु पर्ने सचिव काफ्लेले बताए । अबको केही दिन भित्रै पालिका प्रमुख/उपप्रमुखको वाँडफाँड सक्ने र त्यसपछि वडाको वाँडफाँड गरिने बताए ।


गठबन्धनको द्रोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाको प्रमुख पद र बाँकी ७ वटा पालिकाको उपप्रमुख/उपाध्यक्ष पाउनु पर्ने दाबी गरेको छ। नेकपा माओवादीका रुपन्देही संयोजक निर्मल जिसीले माओवादीको जनमतलाई ख्याल गरेर नै आफूहरुले ३ पालिकाको प्रमुख र अन्यमा उपप्रमुख/उपाध्यक्ष पाउनु पर्ने बताउँछन् । साथै माओवादीले गठबन्धन हुने पालिका मध्येबाट ५०/६० वडाध्यक्ष पाउनु पर्ने बताए।


जनता समाजवादी पार्टीले ३ वटा पालिकाको प्रमुखमा दाबी गरेको छ । जसपाले ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र शुद्धोधन गाउँपालिकाको प्रमुख र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा दाबी गरेको छ । साथै जसपाले गठबन्धन गर्ने सहमति भएका जिल्लाका १० पालिकाका २८ वडाध्यक्ष आफूहरुले पाउनु पर्ने जिल्ला सह–इन्चार्ज किस्मत बि.क.बताउँँछन् ।यता नेकपा एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिका सहित ३ पालिकाको प्रमुखमा दाबी गरेको छ भने ३ पालिकाको उपप्रमुख/उपाध्यक्ष पद दाबी गरेको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै उसले सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकाको उपप्रमुख पदमा दाबी गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङले गठबन्धन हुने १० पालिकामा आफूहरुले ३ देखि ५ वटा वडाध्यक्ष पाउनु पर्ने बताउँछन् ।


राष्ट्रिय जनमोर्चाले भने जिल्लाका कुनै पनि पालिकामा आफ्नो दाबी नरहेको जनाएको छ । जनमोर्चाले २ वटा वडाध्यक्ष र ४/५ वटा सदस्यमा मात्रै दाबी रहेको अध्यक्ष बद्रे आलमले बताए । साथै अध्यक्ष आलमले गठबन्धनमा आवद्ध दलहरुलाई इमान्दारितापूर्वक प्रस्तुत हुन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्