लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुमा इँटा बनाउँदै स्कुले बालबालिका

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र २२ गते।  सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् ।सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् ।उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ ।सकिल दिनभरी इँटा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँटा उद्योगमा परिवारसँगै उनीहरु पनि इँटा बनाउने गर्छन् ।विद्यालय जाने उमेरका बालबालिका इँटा बनाउनमा ब्यस्त देखिन्छन् ।


खासगरी भारतीय बालबालिका इँटा उद्योगमा मजदुरी गर्दैआएका छन् ।भारतको बरेलीबाट सपरिवार मजदूरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँटा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए ।नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँटा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । बालबालिकालाई काम गर्न लगाउने इँटा उद्योगको नवीकरण नगरिने उनी बताउँछन् ।दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुहुन्छ । शिवराजसँगै महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा ४०० भन्दा बढी बालबालिका इँटा उद्योगमा काम गर्छन् ।शिवराज नगरपालिकाले इँटा उद्योगमा कार्यरत बालश्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीनमहिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

कमेन्ट गर्नुहोस्