
चैत्र १५ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमामा बहुउदेश्यीय टावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुउदेश्यीय टावरको उद्घाटन गरे । बहुउदेश्यीय टावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे । १० तले बहुउदेश्यीय टावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहनेछन् ।
हामीले सुरक्षित राखेको सुकुम्बासीको फाईल खोज्न देउवा भारत जादै : ओली
कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन नचाहेको आरोप लगाएका छन् ।उनले एमालेले गठन गरेको भूमि आयोग अहिलेको सरकारले विघटन गरेर सुकुम्बासीमाथि पहिलो बञ्चरो प्रहार गरेको बताएका हुन् । अघिल्लो सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला यो सरकारले आयोग खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको आरोप छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाउँदै हिंडेको पनि दावी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणतर्फ लक्षित गर्दै ओलीले दिल्ली गएपछि फाइल भेटिन सक्ने टिप्पणी गरे । ‘शुक्रबार प्रधानमन्त्री दिल्ली जाँदै हुनुहुन्छ, त्यहाँ गएपछि फाइल भेट्छन् होला’ ओलीले भने ।
ओलीले एमालेको सरकार बनेपछि भारतसंगको परनिर्भरता कम भएको र भ्यूटावर निर्माण लगायत विकासको लहर चलेको बताए । जनप्रतिनिधिहरु स्वच्छ र पारदर्शी हुनुपर्ने सुझाव दिंदै ओलीले आवश्यकता अनुसार टोल टोलमा विकास पुर्याउनुपर्ने बताए । खाद्यान्नमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूर्ण विषय भएकोमा जोड दिंदै ओलीले जमिन बाँझो राख्न नपाइने तिलोत्तमाको नीति सबैले अनुशरण गर्नुपर्ने सुझाव दिए ।
कमेन्ट गर्नुहोस्