विमला जोशी प्रधान
२०७८ फागुन २७ , तिलोत्तमा सिटी ।
गल्ली गल्छेंडाहरुमा
छात्तिभरी आगो सल्काएर
कालो धुँवाको मुस्लो उडाउँदै
दौडीरहेछन् शहरहरू गाउँहरुमा।
साँच्चै ...
पहिरोको आतंक ,
भुँइचालोको ताण्डवहरु भन्दा
युद्धको ताण्डव अती भयानक अनि
दर्दनाक हुन्छ।
जंगली ब्वाँसोहरुको भिडमा
निरीह मृग जस्तै
धुुर्त स्यालहरु यहाँ
र्याल काट्दै दिउँसै गाउँतिर पस्दैछन्
युद्धको बिगुल बजाउँदै।
युद्ध, कति गार्हो छ
कति चाम्रो छ यो शब्द
हाँस्ने खेेल्ने मैदानलाई
श्यमशान घाइते तुल्याउँछ
आर्तनादको कोलाहलभित्र
मनको त्रास मनैभित्र रुमलिन्छ।
युद्धको आवरणभित्र
कहाँ फुूलको सुगन्ध हुन्छ
त्यहा त बिध्वंस हुन्छ मानवता पनि
अनाथको चित्कार
विधवाको बिलाप
पुत्रशोकमा परेकाहरुले दिएको अभिशाप
युद्धले दिएको परिणामहरुमा
शोक ...केवल शोक ...!
लामो अन्तरालसम्म
कलिङको युद्ध पछि
राजा अशोकले के पाए त?
केवल शोक
युद्ध जय भएपछि पनि
रातो रगतको आहालभित्र
सारा जीवन शोकको लहरमा
बाँच्नु पर्यो।
यसैले...
उन्मुक्त हाँसो हाँस्नलाई
निर्धक्कसाथ हिड्नलाई
दुखेको छात्तिमा मलमपट्टि लाउनलाई
चकमन्नताको अस्पतालभित्र
बग्रल्तै लम्पसार जीवनहरु
मृत्युको चट्टानहरुमा
शान्तीको बिगुल बजाइदेउ
युद्ध बिरामको घोषणा गरिदेउ
शोकको लहर पन्छाइदेउ ।
कमेन्ट गर्नुहोस्