
२०७८ फागुन २०, तिलोत्तमा सिटी । ‘म यस्तो गीत गाउँछु २' गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्रले बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो दिनदेखि फिल्मले निरन्तर हाउसफुलको व्यापार गरिरहेको छ । प्रदर्शनको दुई दिनमा देशभर १ करोड ८० लाख कमाई गरेको फिल्मले पहिलो हप्तामा झन्डै ५ करोडको आँकडा छोएको छ । निर्माण टिमले शुक्रवार सार्वजनिक गरेको एक हप्ते कलेक्सन रिपोर्टमा ४ करोड ९५ लाखको आँकडा देखाइएको छ । यो कलेक्सन राजधानीभित्र र उपत्यकाबाहिरको जोडेर हो ।
फिल्मले झन्डै ५ करोड कमाउँदा निर्माताको हातमा चाहिँ कति पर्छ त ? वितरक करण श्रेष्ठ भन्छन्, ‘यो रकमबाट १६ प्रतिशत कर काटिन्छ । त्यसपछि ५०/५० प्रतिशत हलवाला र निर्माताले पाउँछन् । निर्माताले पाउने रकमबाट वितरकको कमिसन र सर्भरको काटेपछि बाँकी रहने रकम निर्माताको हुन्छ । ४ करोड ९५ मध्ये निर्मातालाई त्यस्तै १ करोड ८० लाख जति हात पर्न आउँछ ।’काठमाडौंभित्र वितरणको जिम्मा लिएका करण श्रेष्ठ पहिलो हप्ता जस्तै दोस्रो हप्तामा पनि फिल्मले आक्रामक व्यापार गर्नेमा विश्वस्त देखिएका छन् । ‘दोस्रो हप्ताको पहिलो दिन पनि विहानको ११ बजेबाट देशभरका हलहरु हाउसफुल छन् । त्यसैले दोस्रो हप्तामा पनि फिल्मले राम्रो कमाई गर्नेमा आशावादी छौं,’ उनले भने । अब नेपाली फिल्म क्षेत्र पुरानै लयमा फर्किएको उनको दाबी छ ।
हिट फिल्मको सिक्वेल र अभिनेता पल शाह प्रकरणको ठूलो फाइदा उठाएको फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया बटुलेको छ । पल शाह र पूजा शर्माका फ्यानहरुले फिल्मलाई रुचाएका छन् । तर, कथावस्तु लगायतको पाटोलाई गम्भीर भएर विश्लेषण र मुल्यांकन गर्ने दर्शकहरुले भने कमजोरी पक्षहरु बढी औंल्याएका छन् । समीक्षकहरुले पनि फिल्मको प्रशंसा गर्न सकेका छैनन् ।सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ । एक स्टार गायक र एक नवोदित गायिकाबीचको प्रेम सम्बन्धको कथा वाचन गरेको फिल्मलाई सौरभ लामाले खिचेका छन् । गीतसंगीतले मेरुदण्डको रुपमा काम गरेको फिल्ममा हरिहर शर्माको अभिनय बुलन्द छ ।
कमेन्ट गर्नुहोस्