
तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संगठन विस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दावी गरे ।एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय समाजवादलाई अहिलेको परिस्थिति अनुकूल सिर्जनात्मक ढंगले कार्यान्वयन गरिने विश्वास दिलाए । पार्टीभित्र हरेक तहको कार्याकर्ता नेता भएको बताउँदै उनले प्रत्येकले आफू हाकिम नभई जनताको सेवक हो भन्ने भावनाका साथ खटिनुपर्नेमा जोड दिए ।कार्यक्रममा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पदमा अर्यालले एमालेप्रति आस्था एवं विश्वास बढ्दै गएको दावी गरिन् । आसन्न निर्वाचनका लागि सक्रिय हुन उनले आग्रह गरिन् । रासस
कमेन्ट गर्नुहोस्