
तिलोत्तमा सिटी,माघ १५ गते २०७८। प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित सत्यसाई वृद्ध सेवा आश्रम पुगेर प्रेस सेन्टर रुपन्देहीले आश्रममा रहेका जेष्ठ नागरिक एवं व्यवस्थापन टिमसंग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जीसी 'निर्मल' ले सम्मानित बुवा आमाहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए । बुवा आमाहरू बृद्ध आश्रममा बस्नुपर्ने विविध कारण हुन सक्छन् तर राज्य संयन्त्रले उहाँहरूको खानपान, बसाई देखि स्वास्थ्यको विषयमा समेत ध्यान पुर्याउन सके जेष्ठ नागरिकप्रति सम्मान हुने र सेवा आश्रम व्यवस्थापन गरिरहनुभएका सेवकलाई समेत सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा सेवा आश्रमका व्यवस्थापक केशव शर्माले कैयौं आर्थिक कठिनाईका विच स्थानीय समाजसेवीहरूको सहयोगबाट आश्रम व्यवस्थापन भैरहेको बताए । नियमित आर्थिक श्रोत केही पनि नभएको उल्लेख गर्दै शर्माले राज्य संचालकको नजर अझैपनि यसप्रकारका आश्रमहरूमा पर्न नसकेको दुखेसो गरे ।सोही कार्यक्रममा बोल्दै आश्रममा बस्दै आउनुभएका आमाहरूले जीन्दगीको अन्तिम समयमा परिवारबाट अलग भएर बस्नु रहर नभएर बाध्यता भएको उल्लेख गर्दै नेपाली समाज हिजोभन्दा आजबढी अमानवीय र स्वार्थी भएकोमा दु:ख व्यक्त गरेका थिए ।बृद्ध सेवा आश्रमलाई विभिन्न खाद्यान्न समेत हस्तान्तरण गरिएको उक्त कार्यक्रम प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझीको अध्यक्षता, सचिव विष्णु पोखरेलको संचालन तथा जिल्ला सचिवालय सदस्य रिया बस्नेतको स्वागतमा सम्पन्न भएको थियो ।
मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् ।माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका भूमिका उल्लेखनीय रहेको बताएका हुन् ।मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने भन्दै प्रचण्डले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताएका छन् ।
आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उनले बताएका छन् ।‘१८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एशोसियट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफुलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु ।’
कमेन्ट गर्नुहोस्