
२०७८ पुष २०, तिलोत्तमा सिटी। किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले यस्तो जानकारी दिएका हुन् ।मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमी व्यवस्था, गृह र अर्थ मन्त्रालयमा लेखी पठाएको वाणिज्य सचिव भट्टराईले बताए ।
‘५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेछ, उनीहरुलाई भुक्तानीमा प्रतिबद्ध गराउन हामीले काम गरिरहेका छौं,’ सचिव भट्टराईले भने । उखुको मूल्य निर्धारण गर्ने समय भएको बताउँदै उनले उखुमा देखिएको समस्याले उत्पादन घट्दै गएको बताए । किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको सचिव भट्टराईले बताए ।
छलफलमा राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए ।पछिल्लो प्रतिस्थापन विधेयकमा पनि यसलाई समेट्नेबारे छलफल भए पनि तत्काल गर्नुपर्ने तयारी नपुगेको उनको भनाइ थियो ।कृषि सचिव गोविन्द शर्माले उखुको मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताए ।
कमेन्ट गर्नुहोस्