
तिलोत्तमा सिटी,१८ पौष २०७८। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय विद्युतको बजार खोज्न लागिएको भन्नुहुँदै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताउनुभएको हो ।शुक्रबार नयाँ वानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताउनुभयो । ‘जलविद्युत थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’
बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने भन्नुहुँदै उहाँले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने बताउनुभयो । कृषि आधुनिकीकरण, औद्योगिकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याउनुभयो । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्नुहुँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताउनुभयो ।
कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उहाँले जोड दिनुभएको हो । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उहाँले भन्नुभयो, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्वयक छ ।’ आगामी दिनमा लगानीका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभएयो ।भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।
कमेन्ट गर्नुहोस्