लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ५७ करोड लगानीमा होटल सञ्चालन

IMG

तिलोत्तमा सिटी,१५ पौष २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भूमिमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा ५७ करोडको लगानीमा द एसआर होटल एण्ड इभेन्ट्स प्रा.लि सञ्चालनमा आएको हो ।हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित युवाहरुको संयुक्त लगानीमा १२ कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेकोे होटलको बिहीबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष होमकान्त बस्याल (शंकर) ले होटलको औपचारिक रुपमा शुभारम्भ भएको जानकारी दिए । होटलको गुणस्तर तथा सुविधा र सेवा विस्तारका काम पनि जारी रहेको उनले बताए ।




नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसमा पनि मुलुककै केन्द्रमा पर्ने रुपन्देहीमा पर्यटनको ठूलो सम्भावना देखेर अध्ययनपछि मात्रै होटल सञ्चालनमा ल्याइएको अध्यक्ष बस्यालले बताए । भारतीय सीमासंग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्न सके पर्यटन प्रवद्र्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पुर्याउने उनले बताए ।सरकारसँग सहकार्य गर्दै होटलमा आउने पाहुनाहरुलाई नजिकका धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुमाउने तयारी रहेको छ । रुपन्देहीमा पहिलोपटक स्वायल टेस्टिङ गरी निर्माण गरिएको भुकम्प प्रतिरोधी होटलको ग्राउण्ड फोलरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याबिन रहेका छन् । त्यस सँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइनेछ ।


होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम,  १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौ तलामा स्वदेशी तथा विदेसी परिकार पेयपदार्थ सँगै औपचारिक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हल समेत रहेको छ भने, छैठौं तलामा ओपनरुफटप रहेको छ । जहाँबाट तिलोत्तमा र बुटवल लगायतको आकर्षक हरियाली शहरसहित रुपन्देही, पाल्पा, नवलपरासीका मनमोहक चुरे पहाडसँगै लुम्बिनी, भैरहवा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा दक्षिणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिन्छ ।होटलमा स्विमिङ पुल, जिम, स्पाको समेत तयारी भइरहेको छ । यसका साथै ५ वर्ष भित्रमा होटलको सेवालाई एकसय बेडभन्दा बढी क्षमतामा विस्तार गर्ने र १० वर्षमा देशका सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका कम्तीमा ७ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा पत्रकार माधव ढुंगानाले रुपन्देही पर्यटनको सम्भावना रहेको बताउँदै यो अवसरलाई सही ढंगले अगाडि बढाउन गुणस्तरमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा तिलोतमा नगरपालिका प्रेस सल्लाकार वि.पी. गौतमले कोरोनाले होटल व्यवसायीलाई समस्यामा पारेको बताउँदै विस्तारै पर्यटन व्यवसाय चलायमान हुन थालेको बताए ।


होटलको शुभारम्भसँगै जम्वालया रेष्टुरेण्टमा सुरुका १५ दिनलाई होटलमा आउने पाहुनाहरुलाई ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा होटलका संस्थापक अध्यक्ष मधुकर शर्मा, सञ्चालक सदस्य टेकनाथ बस्याल, पशुपति प्रधान, निश्चल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । होटलका सञ्चालक सदस्य केशव भण्डारीको स्वागत तथा कम्पनी सचिव चिरन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्