
तिलोत्तमा सिटी,६ पौष २०७८। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए ।विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन गर्यो ।
साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास गर्यो ।मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको थियो । यद्यपि पाण्डे पक्षले समानान्तर गतिविधि जारी राख्यो ।पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ । पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी जारी राखेको र समानान्तर समिति घोषणा गरेको देखिएकाले कारबाही गरेको विवेकशील साझाले बताएको छ ।
मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन : पाण्डे
विवेकशील साझा पार्टीका निष्कासनमा परेका संयोजक मिलन पाण्डेले आफूमाथि अवैधानिक रुपमा कारबाही गरिएको प्रतिक्रया जनाएका छन् । पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै विधान र पद्धतिविपरीत आफूलाई हटाइएकोले उक्त निर्णय अस्वीकार गर्ने जनाएका छन् ।'पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु,' उनको विज्ञप्तिमा उल्लेख छ ।पार्टीमा उर्जाशील समय खर्चिएको र अग्रगामी पार्टी बनाउन प्रतिबद्ध रहेको भन्दै उनले आफूमाथि कसैले कारबाही गर्न नसक्ने दाबी पनि गरेका छन् ।
'तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भइरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु ।र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु,' उनले भनेका छन्, 'मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन ।'पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरीत गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याउने काम लगातार गरेको आरोप लगाएँदै अध्यक्ष रवीन्द्र मिश्र पक्षले मंगलबार पाण्डेलाई पार्टीबाट हटाएको हो । पाण्डेले मंगलबार बिहान 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान'को केन्द्रीय समिति घोषणा गरिएको पनि जनाएका छन् । उनका अनुसार अभियानमा पार्टीमा हालका सम्पूर्ण केन्द्रीय समितिका २०१ सदस्यीय सहभागी छन् । अभियान कुनै समानान्तर समिति नभई पार्टीलाई सुदृढ र जग निर्माण गर्ने मूल कार्यक्रम भएको उनले प्रस्ट पारेका छन् ।
कमेन्ट गर्नुहोस्