
२७ कात्तिक,२०७८ तिलोत्तमा सिटी । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ ।मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए ।
विद्युत बस ल्याउने भनेर केही सांसद भारत र चीनको भ्रमण गरेको पाईको भन्दै उनले भने, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हाललाई यो स्थगित गरेका छौं ।’यस्तै कुलेखानी-हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।उनले भने, बजेटको सुनिश्चितता नभएसम्म यो ५० करोड यहाा दुरुपयोग गर्नु हुँदैन भनेर हामीले हाललाई स्थगित गरका हौं ।’उनका अनुसार प्रदेश सरकारले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको छ ।
एसईई पुरा गरेका विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा दिने र पालिकामा काम गर्ने गरी प्रदेश सरकारले निर्णय गरेको उनले सुनाए ।प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाइदिने निर्णय गरेको उनले बताए । यो अभियान छात्राहरूले पढ्ने कुरामा महत्वपूर्ण हुन्छ, पाण्डेले भने ।यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजनामा काम भइरहेको छ । उनका अनुसार हाल ९ खर्व रेमिट्यान्स प्रदेशमा आउने गरेको छ, सरकारले तालिम दिएर पठाउँदा श्रमिकहरुको आम्दानी तीन गुणासम्म बढ्नसक्छ ।
कमेन्ट गर्नुहोस्