
तिलोत्तमा सिटी,११ कार्तिक २०७८। नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।प्राधिकरणले आज बिहीवार सूचना प्रकाशन गरेर नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीलाई गएको असोज १५ गतेसम्मको समय दिएको थियो ।
प्राधिकरणले दिएको समयमा सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गएकाे असोज १७ गते काठमाण्डाै उपत्यकालगायतका जिल्लामा इन्टरनेटको तार काटिएको थियो ।यता इन्टरनेट सेवा प्रदायक कम्पनीले भने प्राधिकरणले आफूखुसी पोलको भाडा बढाएको भन्दै बढेको भाडा भुक्तानी नगर्ने अडान राख्दै आएका छन् । सेवा प्रदायकले बक्यौता रकम र नयाँ सम्झौता नगर्ने अडान राख्दै आएकोमा नियामक निकायको रूपमा रहेको दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र सम्झौता गरिसक्न निर्देशन दिएको हो ।प्राधिकरणको तथ्याङ्कअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीले सात करोड सात लाख रुपैयाँ बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।
कमेन्ट गर्नुहोस्