
तिलोत्तमा सिटी,९ कार्तिक २०७८।नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्न बार कार्यसमितिलाई सुझाव दिएको छ ।मंगलबार बसेको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीसको राजनीनामा माग्न र उनले राजीनामा नदिए आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको हो ।बारका पूर्वअध्यक्षहरु र समहासचिवहरु एवं उपत्यकाका बरिष्ठ अधिवक्ताहरू सल्लाहकार समितिका ३७ जना सदस्यहरुको उपस्थितिमा भएको छलफलमा प्रधानन्यायाधीसको राजीनामा माग्ने विषयमा एक जनाबाहेक सबैले समर्थन जनाएका थिए । बार पूर्वअध्यक्ष शेरबहादुर केसीले मात्र प्रधानन्यायाधीसको राजीनामा माग्न नहुने धारणा राखेका थिए ।
यस्तै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीसको मात्र नभएर प्रतिनिधिसभा विघटन विरुद्ध फैसला गर्ने पाँचै न्यायाधीसको राजीनामा माग्नुपर्ने जिकिर गरेका थिए ।वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भू थापा, रमण श्रेष्ठ, रामनाथ मैनाली, कुमार शर्मा, मुक्ति प्रधान, कृष्ण सापकोटा, सुरेन्द्र महतो, टीकाराम भट्टराई लगायतले प्रधानन्यायाधीसले राजीनामा गर्नुको विकल्प नभएको बताएका थिए ।बैठकपछि संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
कमेन्ट गर्नुहोस्