
तिलोत्तमा सिटी,८ कार्तिक २०७८। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले नेपाल प्रेसलाई जानकारी दिए ।उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो ।
पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ। काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन । ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आइतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो ।मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारिएको छ ।
कमेन्ट गर्नुहोस्